एक एक गर्दै बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएकाहरु छुटिरहेका छन् ।पछिल्लो पटक भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर बुधबार रिहा भएका छन्।उक्त मुद्दामा सात महिना हिरासतमा बसेका नेता रिजाल धरौटी बुझाएर बुधबार रिहा भएका हुन्।
उनलाई गत मंसिर १५ गते नै उच्च अदालत पाटनले १५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
तर धरौटी रकम बुझाउन नसक्दा रिजाल थप झन्डै एक महिना सुन्धारा कारागारमै रहनुपरेको उनका सहयोगी विश्वनाथ क्षेत्रीले जानकारी दिए। रकम बुझाएपछि रिजाल रिहा भएका हुन्।रिहाइपछि रिजालले आफ्नो पक्षमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण उच्चको आदेशअनुसार जिल्ला अदालतमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रूपैयाँ बुझाएर रिहा भइसकेका छन्।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप, आरोपी नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ र रामशरण केसीले पनि तोकिएको रकम बुझाएर रिहा भइसकेका छन्। उक्त प्रकरणमा अब मात्र पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री रायमाझी, इन्द्रजीत राईलगायत पुर्पक्षका लागि कारागारमै छन्।