अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले विश्व कीर्तिमानी ब्याट्सम्यान रुपमा आफ्नो नाम कोरेका छन् । शनिबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी–२० सिरिजको खेलमा यी दुई नेपाली ब्याट्सम्यानले विश्वव्यापी पहिचान बनाएका हुन् ।
शनिबार हङकङविरुद्धको खेलमा कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले पाँचौं विकेटका लागि १४५ रनको साझेदारी गरेका थिए । यो नै पाँचौं विकेटका लागि अहिले सम्मको उच्च साझेदारी हो । यसअघि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा न्यूजिल्याण्डका मार्क च्यापम्यान र जेम्स निशमले अप्रिल २४, २०२३ मा पाकिस्तानविरुद्ध पाँचौं विकेटका लागि १२१ रनको साझेदारी गरेका थिए।
पाँचौं नम्बरमा खेलेका कुशल मल्लले ९२ रनको असाधारण योगदान दिए । ४१ औं बलमा ब्याटिङ गर्न आएका उनले ९ छक्का र ३ चौका प्रहार गरे। दीपेन्द्र सिंह ऐरीले पनि उत्कृष्ट खेल्दै अर्धशतकीय पारी खेले । छैटौं ब्याट्सम्यानका रूपमा दीपेन्द्रले ३४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५७ रनको योगदान दिए ।









