आईसीसी विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले पराजित गर्दै आयोजक भारतले फाइनलमा स्थान पक्का गरेको हो ।
दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । आईसीसी विश्वकप क्रिकेटको उपाधिका लागि महत्वपूर्ण खेल आइतबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।
अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा पाँच पटक आईसीसी विश्वकपको उपाधि जितेको छ भने भारतले सन् १९८३ र २०११ मा दुई पटक उपाधि जितेको छ। अष्ट्रेलियाले २०१५ यता उपाधि जित्न सकेको छैन र भारतले सन् २०११ मा जितेको थियो। ।
जारी विश्वकपमा भारतले ९ लिग खेलमध्ये ९ जितेको छ भने अष्ट्रेलियाले ९ खेलमध्ये २ खेलमा हार बेहोरेको छ । जारी विश्वकपको लिग चरणमा अस्ट्रेलिया भारतसँग ६ विकेटले पराजित भएको थियो भने अर्को खेलमा दक्षिण अफ्रिकासँग १३४ रनले पराजित भएको थियो ।
विश्वकप क्रिकेटमा भारत र अष्ट्रेलियाबीचको प्रतिद्वन्द्वीमा अहिलेसम्म १३ वटा भिडन्त भइसकेका छन् । अष्ट्रेलियाले ८ खेलमा जित हात पारेको छ भने भारत ५ खेलमा सफल भएको छ ।
Leave a Reply